By | December 19, 2019

हालै मेक्सिकोको मेयरलाई बाटो नबनाएको निहुँमा त्यहाँका जनताले गाडीमा बाँधेर सडकको हविगत साक्षात्कार गराए। यो समाचार पढ्दै गर्दा मलाई आफू बस्ने नगर गोदावरी र ललितपुर महानगरका मेयरद्वयको अनुहार झल्झली आइरहेको थियो।

यही सडकको कारणले एउटा परिवार ठैवबाट विस्थापित हुनुपरेको सायदै कसैलाई थाहा छ।

हेटौंडाको एउटा परिवार भविष्य खोज्दै गोदावरी नगरपालिका, ठैवको बासिन्दा हुन आइपुगेको थियो। उनीहरूका एक मात्र सन्तान ठैवकै ब्लुबर्ड अंग्रेजी विद्यालयमा शिशु कक्षामा पढ्थे। यही बाटो भएर दिनहुँ घर जान्थे। यहीँको हिलाम्मे बाटोमा आफ्ना कलिला पाइलाहरूको डोब छाड्दै रमाइरहेका थिए।

उनको परिवारले पनि कति सपना साँचेका थिए होलान्। कति आशा थिए होलान्। तर यो सडक प्रयोग गरेर विद्यालय जाँदै गर्दा उनी पानी ट्यांकरको शिकार भए। बर्सेनि हजारौं दुर्घटनामा मान्छेको ज्यान गइरहेको हाम्रो देशमा यी बालकले अर्को एउटा संख्या थपिदिए।

त्यही सन्तानको भविष्य खोज्दै आएको परिवारलाई भने सन्तानै नरहेपछि यो ठाउँ बिरानो लाग्ने भइहाल्यो। उनीहरू आफ्नै गाउँ फर्किए।

त्यस्तै अर्को घटना भयो, खाल्डो छल्न खोज्दा संसार नै छल्न पुगे अर्का एक युवकले।

उनले खाल्डोबाट बाइक त बचाए, तर आफूलाई बचाउन सकेनन्। एउटा ठूलो अजङ्गको चारचक्के यमराजले उनलाई आफूसँगै लिएर गयो।

त्यसपछिको पीडा त हामी अनुमान मात्र लगाउन सक्छौं। जसले भोग्यो, उसलाई दुख्यो। उसैको परिवार तहसनहस भयो। संसार उजाडियो। हामी भने दिनहुँ समाचारमा आउने मृतक संख्या गन्दै बसिरहेका छौं।

यही महिनाको कुरा गरौं। मंसिरमा मात्रै सडक दुर्घटना कम्तिमा दुई सयजतिले ज्यान गुमाए होलान् देशभरिमा। कसैको त परिवार नै स्वाहा भयो। कोही प्रेमी-प्रेमीका सँगै संसार छाडेर गए। अझ घाइते भएर बस्नुपरेको अथाह पीडा छँदैछ।

यी घटनाहरू समाचारका हेडलाइनबाहेक अरू केही भएनन्।

विमान दुर्घटना हुँदा जस्तो न त छानबिन कमिटी गठन भयो, न ती परिवारलाई राज्यले आश्वासनको दुई शब्द नै बाँडे। अलि बलिया मान्छे मारिए, वा कसैले सहयोग गरेर बाटो बन्द गर्न सके भने सुनुवाइ भयो, होइन भने यस्तै त हो नि ब्रो हाम्रो देशमा!

हाम्रै ललितपुरको कुरा गरौं। केही दिनअघि रिङरोडमा रोकिराखेको गाडीमा ठोक्किएर दुई जनाको ज्यान गयो। रिङरोड हो कि रङ रोड हो- न सडक बत्ती छ, न प्रस्टसँग देखिने लेन। धुलोको कुहिरो भित्र अगाडिको गाडी पनि देखिन्न, बाटो काटिरहेका मान्छे पनि देखिन्न।

अब फर्कौं गोदावरी नगरपालिकातिरै।

इँट्टै इँट्टाको राजधानीमा गोदावरी ‘अक्सिजन’ क्षेत्र। मान्छेहरू सहरको भीडभाड छल्न पिकनिक आउने ठाउँ। पाँच सयभन्दा धेरै प्रजातिका बिरुवा भएको ठाउँ। धेरैथरिका पुतली र वनस्पतिको धनी। यस्तो ठाउँमा जाने बाटोको हविगत कस्तो छ, कुरै छाडिदिऊँ।

मजस्ता स्कुटर चलाउनेहरू यो बाटो भएर सहर जाँदा कति लड्यौं, त्यसको लेखाजोखा छैन। म यहाँ बस्न थालेको केही महिनामा दुई-चार जनाले ज्यान गुमाइसके। मान्छे नलडेको दिनै हुँदैन। ठूलो गाडीले हिलो छ्यापेको निहुँमा दिनहुँजसो झगडा भइरहन्छ।

केही दिनअघि तेस्रोपटक लडेर दायाँबायाँ हेर्दै, निरीहपन देखाउँदै, झोला र ज्यान टक्टकाउँदै हिँडेको म यो लेख नलेखी बस्नै सकिनँ।

केही समयअघि मेरैअगाडि एक युवा बाइक चिप्लेर लड्दा झन्डै झन्डै मेरो बाइक उनको जीउमाथि चढेको थियो। चढेको भए कि उनी मर्थे कि म घाइते हुन्थेँ। आखिर गल्ती त हाम्रै देखिन्थ्यो होला। ट्राफिक आउँथ्यो। तपाईं किन लड्नुभयो? वा, तपाईं किन उहाँको शरीरमाथि चढ्नुभयो भन्दै मलाई समाउँथ्यो होला। अनि लिएर जान्थ्यो होला।

त्यो दिन त्यस्तो भएन, भाग्य बलियो थियो सायद।

सधैं सधैं भाग्यले पनि कहाँ साथ दिँदो रहेछ र। अस्तिकै कुरा हो। स्कुटर विस्तारै कुदेकाले झोला र स्कुटर छाडेर उफ्रिन भ्याइयो। धन्न पछाडिबाट गाडी आएको थिएन। हैन भने त्यो गाडीवाला जेल जानुपर्ने हुन सक्थ्यो। मलाई मारेको अभियोगमा।

आजकाल यो बाटो भएर हिँड्न पनि डर लाग्छ। धुलो हटाउन पानी छ्यापिएको सडक त देख्दै हात कामेर आउँछ, लडिन्छ भनेर। के गर्नु, हिँड्नैपर्छ। जागिर खानैपर्छ। जागिर खानलाई झम्सिखेल पुग्नैपर्छ।

यसबीच म कहिले ग्वार्को हुँदै झम्सिखेल गएँ भने कहिले नयाँ बाटोको खोजीमा घन्टौं भौंतारिएँ। सधैं सधैं त्यस्तो गरेर पनि त भएन। यही बाटो हिड्नैपर्यो।

घरमा आफूलाई कुरेर बसेकालाई सम्झन्छु। यति ठूलो भूकम्पमा बाँचेको मान्छेलाई सडकले लग्यो भने त झुरै होलाजस्तो लाग्छ।

जीवन र बाटो उसैगरी चलिराखेकै छ। न बाटो बन्छ, न त वरपरका घरबेटीले धुलो छल्न बाटो चिप्लो पार्ने काममा केही परिवर्तन गरेका छन्। उनीहरू गरून् पनि के गरून्! धूलो खाँदा खाँदा यसै खोक्रो भइसकेको ‘कलेजो’ लाई कति दु:ख दिनु!

घरबाट निस्केपछि अफिस पुगेर फोन नगरुन्जेल र बेलुकी घर नआउन्जेल मेरी श्रीमतीको पनि मन ठाउँमा हुँदैन! बूढा कार्यालयबाट फर्कने हुन् कि कुनै अप्रिय समाचार सुन्नुपर्ने हो भनेर उनको मनमा हुरी चलिरहन्छ क्यारे, फोन गरिरहन्छिन्। बालबच्चाहरू पनि नसुती बाटो कुरेर बसेका हुन्छन्।

म घर पुगेपछि बल्ल निश्चिन्त हुन्छन् क्यारे, मज्जाले मसँगै लडिबुडी गर्दै सुत्छन्।

हरेक दिन कोही न कोही लड्ने यो बाटो सम्झेर उनीहरूको चिन्ता पनि जायज हो। लड्नेहरू कोही आफैं सम्हालिँदै उठछन्, कसैलाई वरपर बसेकाले उठाएर बाटो देखाउँछन्। कोही अस्पतालै पुग्छन्, कोही संसारै छाड्छन्।

यस्तो अवस्था देखेर दु:ख र ऋणपान गरेर बनाएको घर नै बेचेर अन्त जाने हो कि भन्ने छलफल गर्छौं। तर कहाँ जाने?

यस्तै छ हरेक सडकको नित्यकर्म। सडक जीवनसँग जोडिएको हुन्छ! अझ सडक नै जीवन हो! अनि हाम्रो जीवनको अवस्था कस्तो छ देखिरहेकै छौं।

केही वर्षअघि सर्लाहीको एउटा गाउँका धेरै जना कामदार ट्रक पल्टेर बितेका थिए। त्यही घटनाबारे समाचार रिपोर्ट बनाउन म त्यहाँ पुगेको थिएँ। दुर्घटनाले उजाडेको जीवन हेर्दा साह्रै मन पिरोलेको थियो। गाडी चढ्दैमा, बाटो प्रयोग गर्दैमा सबै उजाडिनुपर्ने यो कस्तो विडम्बना!

सोचेर हेर्नुस् त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *