By | December 19, 2019

मलाई लाग्छ, माधवीको कथा यहाँका सुपठित स्रोताहरूलाई थाहा छ। म आफ्नो राय भन्न सक्छु।

माधवी जंगल जान्छिन्। अर्को स्वयंवर गर्दिन भन्छिन्। माधवीले जंगललाई नै आफ्नो पति मानेकी छन्। आफ्नो साधनालाई नै जीवनको केन्द्रीय लक्ष्य मानेकी छन्। आफ्नो खोजको निम्ति माता, पत्नी र पुत्रीको दायित्य छाडेर आफ्नो दायित्वमा मात्र लीन हुन सक्छिन् भन्ने प्रमाण दिएकी छन्।

माधवी जंगल गएको वर्णन महाकवि व्यासले सातवटा श्लोकमा लेखेका छन्।

म अर्की महान महिलालाई पनि सम्झन चाहन्छु। हाम्रो पौराणिक ग्रन्थकी ती महान महिला हुन्, सीता। सीतालाई जब रामचन्द्रकी महारानी बन्ने अवसर आउँछ, उनी भन्छिन्, ‘हे पृथ्वी तिमी फाट, म यो राजासँग बस्न सक्दिनँ।’

सीता महाराज जनककी छोरी थिइन्। रामसँग उनको विवाह भयो। रामलाई वनबास भयो। रामायणमा सरल, निरीह, समर्पित, आदर्श पत्नीका रूपमा सीतालाई प्रस्तुत गरिएको छ। पत्नीबाहेक उनको केही भूमिका छैन।

वाल्मिकी रामायणमा हेर्नुहुन्छ भने, सीता रामले लिएको अडानसँग विद्रोह गर्छिन्। उनी आफ्ना पति रामलाई जंगल जाने बेला भन्छिन्, ‘धनुषबाणको कुनै काम छैन, जंगल जाने हो भने।’

राम भन्छन्, ‘राक्षसलाई नास गर्नुछ।’

सीता भन्छिन्, ‘तिमीलाई राक्षस नास गर्ने के अधिकार छ? उनीहरूको भोजन बेग्लै, संस्कृति बेग्लै। तिम्रो सभ्यतासँग उसको सभ्यता मिल्दैन।’

पछि घटनाले अर्को रूप लिन्छ। उनीहरू १२ वर्ष जंगल बस्छन्। फर्केर अयोध्या आउँछन्। सीता गर्भवती हुन्छिन्, पहिलोपटक। जंगलमा १२ वर्ष गर्भवती भएकी छैनन्। घर आएपछि हुन्छिन्। गर्भवती हुँदा उनलाई एउटा नागरिकको गम्भीर आरोप लाग्छ।

सीता चोखी छैनन्। उनले रावणसँग सम्भोग गरेको आरोप लाग्छ। रामलाई पनि शंका लाग्यो होला। उनलाई जंगल घुमाउने निहुँमा फेरि दोस्रोपटक वनबास पठाउँछन्। वनबासमै सीता गर्भवती हुन्छिन्। छोरो जन्मिन्छ।

ती छोरो जब १६ वर्षको पुग्छन्, उनी दरबार जान्छन्। निर्मम भएर राम भन्छन्, ‘मैले यिनलाई माया नगरेको होइन। यी चोखी छैन भनेर प्रजाले भने। यी चोखी नहुँदा मैले यिनलाई परित्याग गर्ने हो।’

उनी अगाडि भन्छन्, ‘यिनी चोखी भएको एकपटक सिद्ध गर्नुपर्छ। म जनताको चित्त बुझाएर मात्र जानकीलाई राख्ने कि छोड्ने फैसला गर्छु। जनताको चित्त बुझाएर जनताकै अनुसार काम गर्छु। म मनपरी गर्दिनँ।’

सीता आएर साफसाफ भन्छिन्, ‘एकपटक परीक्षा दिएर आएकी म बारम्बार परीक्षा दिएर आफूलाई अपमानित गर्दिनँ। तेरो राज्य, तेरो तथाकथित जनता मलाई चाहिँदैन।’

सीता एकपटक फेरि आफ्नो बाटो जान्छिन्। जसरी माधवी जंगल गएकी छन्, सीता पृथ्वीमा समाहित हुन्छिन्। सीता पृथ्वीकी छोरी थिइन्। उनी आफ्नै माताको शरणमा गइन्।

सीता र माधवीको व्यक्तित्व के हो? आज विश्वव्यापी जुन स्त्री आन्दोलन छ, त्यसको आधार के हो? आधुनिक स्त्री आन्दोलनको सबभन्दा प्रखर व्याख्यामा एक जनाले लेख्नुभएको छ- स्त्री जन्मँदा स्त्री हुँदैन। समाजको मूल्य-मान्यता, घरपरिवार, स्कुल, रुढीवाद, शिक्षा, परम्परा, भानुभक्तको बेशिक्षा र घोकेर पढाइएका शब्दले स्त्रीलाई स्त्री बनाउँछ।

महिला आन्दोलनबारे अर्की नेतृले लेखेकी छन्- स्त्रीलाई नारी अधिकार, बोल्ने अधिकार, लेख्ने अधिकार, जग्गा अधिकार, जमिनको अधिकार चाहिएको छ। कहिले पाउने? उनीहरूलाई त आफ्नो शरीरमाथिको अधिकार पनि छैन।

तेस्रोले लेखेको छ- कसरी व्यापारले, व्यापारीकरणले महिलालाई वस्तु बनाएको छ?

यी तीनवटै नारी आन्दोलनको आधार सीता र माधवीको जीवनले देखाउँछ। दुर्भाग्यवश माधवीको चर्चै छैन। सीताको चर्चा छ तर वास्तविक सीताको चर्चा छैन।

महाभारतकी शारीरिक बलात्कृत पात्र सत्यवती हुन्। अब बलात्कार भन्ने शब्द, त्यसको राजनीति, परिणाम, विभीषिकाबाट हामी नेपाली परिचित छौं। म कुनै आक्षेप लगाउँदिनँ। सरकारको सुरूआती दिनमै पश्चिम कैलालीमा किशोरी बलात्कृत भएकी थिइन्। अहिले सरकारको ठूलो हस्ती नै बलात्कारको आरोप खेपिरहेका छन्।

जहाँ बलात्कार हुन्छ, त्यो राज्यको नाश अवश्य हुन्छ।

विवाह भन्ने संस्था विगत सय वर्षयता तीव्रतासाथ बदलिरहेको छ। विवाहको पनि, परिवारको पनि। यसका व्यापक सामाजिक र आर्थिक सम्मीश्रण छन्। गहन सामाजिक र आर्थिक परिघटना पनि भएका छन्। अब विगतको नैतिकताको हवाला दिन सकिँदैन। स्त्री र पुरुषको सम्बन्धबीच यदि सहमति छ भने सबै कुरा मान्य छ। यसलाई मैले राजनीतिक कुरा मानेको छु।

अहिले ‘मिटू’ को परिवेशमा, अहिले देखिएको चेतनामा म भन्न चाहन्छु, किशोरीहरूमा, युवतीहरूमा क्रान्ति चेत बढेको छु। आज शरीरमाथि मेरो अधिकार चाहिन्छ भन्ने जुन कुरा छ, यसलाई महाभारत र रामायणका माध्यमबाट बुझ्न सकिन्छ। सीताको अध्ययन गर्ने व्यक्तिले बडो मार्मिक रूपमा भन्नुभएको छ, ‘सीता आफ्नो दरबार नफर्कुञ्जेल गर्भवती हुन्नन्।’

आजको समाजमा जे जस्ता समस्या छन्, त्यसलाई म पुराणको माध्यमबाट पनि भन्न चाहन्छु।

शरीरमाथिको अधिकार नारीको पहिलो अधिकार हो। सीता हेर्दा कमजोर देखिन्छन्। तर उनको शरीरमाथि उनको अधिकार थियो। नत्र १२ वर्ष रामसँग वनबास जाँदा गर्भवती भएको उदाहरण किन आएन? दरबारको सुरक्षित स्थानमा गएपछि मात्र उनी गर्भवती हुन्छिन्। जब उनी गर्भवती भएर जंगल गइन्, उनले कसैको सहारा मागिनन्।

जंगल जाने बेला उनले नाबालक छोरालाई भनिन्, ‘राज्य लिने तिमीहरूको अधिकार हो। म हिडेँ।’

यो उनको अधिकारको दाबा हो, स्वत्वको दाबा हो।

माधवी र सीताको व्यक्तित्वको गाथा के देखाउँछ भने, पुरुष होस् या स्त्री सबैलाई सुरक्षा चाहिएला, धनदौलत चाहिएला, अलिकति माया चाहिएला, पहिचान चाहिएला, तर त्योभन्दा महत्वपूर्ण म को हुँ भन्ने प्रश्न चाहिन्छ। अरूभन्दा म कुन अर्थमा फरक छु भन्ने कुरा चाहिन्छ।

छोरालाई छाडेर जंगल हिँडेकी सीता हुन् या राजा-महाराजासँग विवाह गर्ने अवसर छाडेर जंगल हिँडेकी माधवी, उनीहरू दुवै सारा प्रलोभन छाडेर आफ्नो मार्गमा अडिग छन्।

आफ्नो व्यक्तित्व, पहिचान र आत्मउपलब्धिका लागि त्यत्रो ठूलो मौका महाभारतकालमा देखिन्न। महाभारतमा तीन जना महिला छन्। उपनिषदकालकी मैती, जसलाई लोग्नेले तिमीहरूको सम्पत्ति बाँडिदिन्छु भने। मैतीले मलाई सम्पत्ति चाहिएन भनिन्। उनले भनिन्, ‘मलाई घर चाहिएन। बरू तिमी यो बताऊ, तिमी कुन सत्यको खोजीमा छौ? कहाँ जान्छौ? यो सत्य मलाई देऊ।’

मनोविज्ञानले भन्छ, तपाईं आफूभित्रको अन्तरनिहीत सम्भावनालाई एउटा कोपिला फक्रेझैं फक्रन दिनुस्, जीवनको लक्ष्य त्यही हो। अरूजस्तो बन्ने कोशिस नगर्नुस्। जीवन एउटै हो, तपाईं एक थान हुनुहुन्छ, तपाईं मात्र हुनुहुन्छ।

मैले माधवी र सीताको दुईवटा व्यक्तित्वको चर्चा गर्दा के समानता देखेको छु भने, जीवनको लामो संघर्ष र वेदनापछि दुवैले महारानी हुने अवसर त्यागिदिए। त्यसैले उनीहरूलाई आधुनिक मनोविज्ञानको भाषामा परम स्वतन्त्र व्यक्ति भन्छु म।

स्वतन्त्र व्यक्तिले माात्र प्रेम गर्न सक्छ। प्रेमको अर्को नाम नै स्वतन्त्रता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *